कास्की — ढुंगैढुंगाले बनेका झुपुक्क घर । ढुंगा नै बिछ्याएर बनाइएको सफा र फराकिला बाटाघाटा । अतिथिलाई फूलमाला र पञ्चैबाजाले गरिने स्वागत र बिदाइ । होमस्टेका लागि प्रख्यात स्याङ्जाको सिरुबारीका विशेषता हुन् यी । गुरुङ संस्कृति, भेषभूषा र मनोरञ्जनले झन् यहाँको आकर्षणलाई बढाएको छ ।
स्याङ्जाको सिरुबारी सामुदायिक होमस्टे। तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर
स्याङ्जाको नागडाँडा वा हेलु बजारबाट उत्तरतर्फ करिब ३ घण्टाको ग्रामीण सडकखण्डमा यो गाउँ पर्छ । आँधीखोला गाउँपालिका–१ मा रहेको यो गाउँ समुद्री सतहबाट १७ सय मिटर उचाइमा पर्छ । ०५४ सालमा स्थापित ‘सिरुबारी होमस्टे’ यहाँको नमुना होमस्टे हो । होमस्टे स्थापना भएदेखि अहिलेसम्म करिब १४ हजार पर्यटक आएको सिरुबारी सामुदायिक होमस्टेका अध्यक्ष जितेन्द्र गुरुङ बताउँछन् ।
‘हाम्रो होमस्टेमा प्याकेज हुन्छ,’ उनले भने, ‘प्रतिव्यक्ति १४ सय रुपैयाँ लिन्छौं । एक हजार होमस्टे सञ्चालकले लिनेछ भने ४ सय रुपैयाँ संस्थामा जम्मा गर्छौं ।’ यहाँ पुग्ने पाहुनालाई फूलमाला र पञ्चैबाजाले स्वागत गरिन्छ । बुद्धको मूर्ति पूजा गर्न लगाएपछि मात्र खाजा खुवाइन्छ । उनका अनुसार गाउँ पुग्नेबित्तिकै पाहुनालाई सिरुबारी र यहाँका संस्थापकको बारेमा जानकारी दिइन्छ । त्यसपछि घरघरमा बाडँफाँट गरिन्छ । पुनः साँझ ८ बजे सांस्कृतिक कार्यक्रमका लागि बोलाइन्छ । दुई घण्टा नाँचगान गरिन्छ ।
बिहान ११ बजे खाना खुवाएर पाहुनालाई फूलमाला र पञ्चैबाजाले नै बिदाइ गरिन्छ । उनले होमस्टेको व्याख्या गर्दै पाहुनालाई स्थानीयस्तरमै उत्पादित खाद्यान्न खुवाइने बताए । २५ वर्षअघि व्यक्तिगत सौखका कारण स्थापित यो होमस्टे गाउँ सिरुबारी विकास र विस्तार हुँदै जाँदा स्वदेश र विदेशमा प्रख्यात छ । सिरुबारी सामुदायिक होमस्टे नेपालको मात्र नभई एसियाकै पहिलो ग्रामीण होमस्टे हो ।
स्थानीय स्व.रुद्रमान गुरुङको पहलमा ०५४ फागुनमा होमस्टे सुरु गरिएको हो । आन्तरिक पर्यटकको रोजाइमा उत्कृष्ट रहेको यो गाउँले विदेशीलाई समेत मोहित बनाउन सफल भएको छ । होमस्टेको प्रशिक्षण र अवलोकन गर्न आउने पनि एक सातासम्म यहाँको रमणीयतामा मोहित हुने गरेका छन् । सिरुबारी पछिल्लो समय अनुसन्धान र होमस्टेको प्रशिक्षण केन्द्रको रूपमा पनि परिचित छ ।
होमस्टे सञ्चालक उर्मिला गुरुङका अनुसार यहाँका घर, बाटोघाटो, भवनलगायत ढुंगाले नै निर्माण वा सजावट गरिएको छ । ‘ढुंगाबाहेक अन्य वस्तु प्रयोग गरिँदैन,’ गुरुङ भन्छिन्, ‘यो सिरुबारीको अर्को विशेषता हो ।’ उनले स्थानीय ढुंगा नै प्रयोग गरिने बताइन् । उनका अनुसार बाहिरबाट इँटा, बल्कजस्ता निर्माणाधीन सामान भने ल्याइँदैन । यो होमस्टेमा बस्नका लागि चकटी पनि कुदेको ढुंगा नै प्रयोग गरिन्छ ।
यहाँ ४४ घरधुरी भए पनि होमस्टे भने १९ घरमा सञ्चालन हुने अध्यक्ष गुरुङले बताए । उनका अनुसार एक दिनमा १ सय १३ जना पाहुना अटाउँछन् । ‘बिदेसिने र बसाइँसराइले होमस्टे घटेका छन्,’ उनले भने, ‘अब गाउँ फर्क अभियान चलाएका छौं । होमस्टेको संख्या बढाउने, स्थानीय उत्पादनलाई जोड दिने हाम्रो लक्ष्य छ ।’ उनले सिरुबारीको ‘ब्रान्ड’ लाई कायम राख्न पनि चुनौती रहेको बताए । गुरुङ बस्ती रहेको सिरुबारीमा धेरै बेलायती लाहुरे भएकाले बेलायत सरकारले भूतपूर्व लाहुरे र परिवारलाई दिइएको नागरिकताका कारण यहाँका अधिकांश घरमा ताला लागेको उर्मिला बताउँछिन् ।
सिरुबारी पुग्न कहीं कालोपत्रे त कहीं धुलाम्मे सडक छ । सडकको स्तरोन्नति गर्न सके अझ यहाँको पर्यटनमा विकास पुग्ने स्थानीयको भनाइ छ । ‘सिरुबारी पुग्न पहिलेजस्तो समस्या छैन,’ पर्यटन व्यवसायी विकास भन्छन्, ‘होमस्टेको गेटमै गाडी पुग्छ । तर, बीचबाटो कालोपत्रे नहुँदा धूलो र हिलोको समस्या भने छ ।’ अध्यक्ष गुरुङले यहाँ पाठ सिकेर अन्यत्र सञ्चालन गरिने होमस्टेको संख्या बढ्दै गएको बताए । ‘अन्यत्र सञ्चालन भएको होमस्टेको श्रेय हामीलाई नै आउँछ,’ उनले थपे ।
होमस्टे सञ्चालक शैलेन्द्र घिमिरेका अनुसार गाउँमा आउने पर्यटकमध्ये कतिपय आन्तरिक पर्यटक होमस्टे सञ्चालनको प्रक्रिया र तरिकाबारे सिक्न आउने गरेका छन् । यसरी सिक्न आउनेमा विभिन्न ठाउँका आमा समूह, होमस्टे समूह तथा ग्रामीण पर्यटन समिति रहने गरेका छन् । सिकाइलाई मध्यनजर राख्दै समितिले सिरुबारीलाई होमस्टे तालिम केन्द्रको रूपमा विकास गर्दै आएको उनले बताए । ‘सिरुबारी गाउँलाई अब प्रचारप्रसारको खाँचो छैन, यसलाई समयानुकूल व्यवस्थित गर्दै लैजानुपर्ने र पर्यटकको लागि नयाँ–नयाँ आकर्षक कार्यक्रम थप्नुपर्छ,’ स्थानीय हरि ढकाल थप्छन् ।