काठमाडौँ — सेयरमा लगानी र संकलनका लागि खुलेका करिब ५५ लाख ७३ हजार डिम्याट खातामध्ये १७ लाख रित्तै रहेका छन् । यसको अर्थ ती खातामा एक कित्ता पनि सेयर छैन । हाल सेयरमा लगानी गर्न (प्राथमिक र दोस्रो बजारमा) अनिवार्य रुपमा डिम्याट खाता खोल्नुपर्ने व्यवस्था छ ।

यसकारण प्रायः खाताहरु प्राथमिक निस्कासन (आईपीओ) मा लगानीका लागि खुल्ने गरेका छन् । पछिल्ला वर्षमा निकै कमलाई मात्र आईपीओ पर्न थालेको छ । यसकारण आईपीओ नपरेका र परे पनि तुरुन्त विक्री गरेका झण्डै १७ लाख डिम्याट खाता अहिले सेयरविहीन अवस्थामा रहेको सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

‘बुधबारसम्म ५५ लाख ७३ हजार ३ सय ६५ वटा डिम्याट खाता खुलेका छन् । केहीले खोलेर छोडेको तथा केहीमा आईपीओ भरेर पनि नपरेका खाता हुन सक्छन्,’ उनले भने, ‘जसले गर्दा करिब १७ लाख खाता सेयरविहीन छन् । सेयरविहीन डिम्याट खातामध्ये करिब चार लाख निष्कृय रहेको देखिन्छ ।’

सेयर नभएका खाता र निष्कृय खाता छानविन गरी अनावश्यक तथा दोहोरिएका बन्द गर्ने तयारी भइरहेको आचार्यले बताए । ‘सेयर नभएका र धेरै वर्षदेखि नवीकरण नभएका खाताहरु बन्द गर्नका लागि सीडीएसलाई पनि नियामक निकायको अनुमति चाहिन्छ,’ उनले भने, ‘यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न नियामक निकाय धितोपत्र बोर्डलाई लेखी पठाएका छौं ।’ गत वर्षको तुलनामा चालु आर्थिक वर्ष डिम्याट खाता खोल्नेको संख्यामा कमी आएको पनि सीडीएससीले जनाएको छ । गत वर्ष दैनिक ५ हजार ६ सय जनाका दरले डिम्याट खाता खोल्ने गरेकोमा यस वर्ष सो संख्या १ हजार २ सयमा सीमित भएको आचार्यले बताए । हालसम्म करिब ५ लाख खाता नवीकरण हुन बाँकी रहेको पनि सीडीएससीले जनाएको छ ।