नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले एलसी मार्जिनमा ब्याज दिन राष्ट्र बैंकसँग माग गरेको छ । हालै मात्र राष्ट्र बैंकले एक निर्देशिका जारी गर्दै सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम ५ प्रतिशतदेखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने वाध्यात्मक व्यवस्था गरेकोमा यस्तो एलसी मार्जिन धितोमा अब बैंकले ब्याज दिनुपर्ने नाडाले बताएको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै नाडाले हाल कायम एलसी मार्जिनको मापदण्ड तत्काल परिमार्जन गर्न र त्यसो नगरे मार्जिन धितोमा ब्याजको व्यवस्था गर्न राष्ट्र बैंकसँग माग गरेको हो ।

हाल एलसी मार्जिनको सीमा ५ प्रतिशतबाट बृद्धि गरेर ५० देखि शतप्रतिशतसम्म कायम गर्दा सवारी साधन लगायत तथा स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या आई यसले मूल्य वृद्धि समेत गराएको नाडाको भनाइ छ । यसैले अबिलम्ब पुरानै ५ प्रतिशतको एलसी मार्जिनको व्यवस्था कार्यान्वयनमा ल्याउन समेत नाडाले राष्ट्र बैंकसँग माग गरेको छ ।

सोही अबसरमा नाडाले हाल विधमान तरलता अभावको समस्याकाबीच बैंकहरुले अनपेक्षित ब्याजदर वृद्धि गरेको भन्दै सो सम्बन्धमा समेत राष्ट्र बैंकको ध्यानाकर्षण गरेको छ । निक्षेपको ब्याजदर बढेसंगै बैंङ्क तथा वित्तिय संस्थाहरुले स्वतः कर्जाको ब्याजदर समेत बढाउने हुँदा कोरोना महामारीबाटभर्खर भर्खर मात्र पुनरुत्थानतर्फ लाग्दै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई यसले ठूलो असर पार्ने नाडाको भनाइ छ । यस्तो अवस्थामा ब्याजदर वृद्धि गर्नुको कुनै सान्दर्भिकता नभएको भन्दै नाडाले सो सम्बन्धमा समेत पुनर्विचार गर्न राष्ट्र बैंकसँग आग्रह गरेको छ । साभार:रातोपाटी