ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत चिउरीडाँडा स्वास्थ्य चौकी, खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी, सिन्धुलीलाई बेबी वार्मर प्रदान गरेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै उत्पादन गरेको बेबी वार्मर प्रदान गरिएको बैंकले जानकारी दिएको छ । बैंकले यी अस्पतालहरूलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

चिउरीडाँडा स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्र नेपालीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, खोटाङका वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष महन्त कुमार राईलाई सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

कल्पवृक्ष स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट सुरेन्द्र नेपालीले मरीण गाउँपालिका–३, सिन्धुलीका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका विमर्श मोक्तानलाई सो बेबी वार्मर हस्तान्तरण गरे । कार्यक्रममा अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गरिएको थियो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रूपमा रहेका सम्भावनाहरू पहिचान र उजागर गर्न सहयोगी बन्ने मूल उद्देश्यबाट रहेको भनिएको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरू गर्दै आएको छ ।

बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा। महावीर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको ‘न्यानो नानी’ परियोजना–२ को लागि सहयोग प्रदान गरेको थियो ।

ज्योति विकास बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराइरहेको छ ।साभार:रातोपाटी