ओखलढुंगाकी सरिता पौडेल (नाम परिवर्तन) ले शुक्रबार तछाड मछाड गर्दै बालाजुको कोत धुकः पेट्रोल पम्पबाट आधी जर्किन पेट्रोल भरिन् । व्यवसायी र आयल निगमबीचको विवादका कारण बिहीबारदेखि नै पेट्रोल पम्पहरुमा लामो लाइन लागेपछि ट्याक्सी चालक श्रीमान्ले उनलाई पेट्रोल भर्न बालाजुको पेट्रोल पम्पमा पठाएका रहेछन् ।

एक घण्टा लामो लाइन बसेर आफूले आधा जर्किन (१० लिटर) पेट्रोल किनेको उनले बताइन् । ‘श्रीमान् ट्याक्सी चालाउनु हुन्छ, तेल अभावमा ट्याक्सी थन्क्याउन नपरोस् भनेर भरेको, एउटा स्कुटी पनि छ । तेल त चाहियो नै,’ सरिताले अनलाइनखबरसंग भनिन् ‘ग्याँस पाउन एक हप्ता पछि भनेको छ, पेट्रोल चाहिँ जोहो गरिहालौं भनेर ।’ अति प्रज्वलनशील पेट्रोल घरमा राख्न सुरक्षित हुँदैन भन्ने थाहा भए पनि पेट पाल्ने व्यवसाय बन्द गर्नुनपरोस् भनेर पेट्रोल किनेर घर लगेको उनको भनाइ छ ।

धादिङका सुनिल श्रेष्ठले ज्ञानेश्वरको भ्याली फ्युल सेन्टरमा शनिबार घण्टौं लाइन बसेर १३ लिटर पेट्रोल किने । ‘मिलाएर चलायो भने एक हप्ता पठाओ चलाउन पाइन्छ कि भन्ने आश छ,’ सुनीलले भने, ‘यति महंगोमा पेट्रोल किन्न पनि जनतालाई यत्रो सास्ती ।’

दुई दिन अघिसम्म सहज रुपमा पाइँदै आइएको पेट्रोलियम पदार्थको वितरण आयल निगम र व्यवसायीबीचको विवादका कारण बिहीबारदेखि देशभर एकाएक अबरुद्ध बन्यो । बुधबारसम्म निगमका डिपोबाट कुस्त मात्रामा पेट्रोलियम किनेका डिपोले आफ्नो बिक्री सकिएपछि काठमाडौं उपत्यकासहित देशैभरका उपभोक्तालाई अभाव सिर्जना गरिदिए ।