चीनमा हालैमात्र बढेको कोभिड संक्रमितको संख्याले विश्वकै ठूलो स्मार्टफोन बजारमा धक्का लाग्ने देखिएको छ । तर अमेरिकी फोन एप्पलले भने व्यापार बढाउन सक्ने विश्लेषकहरुले बताएका छन् । बुधबार मात्रै चीनले सांघाईमा २० हजार भन्दा बढी कोभिडका संक्रमित फेला परेको जनाएको छ । सरकारी निकायले यो शहरमा कडा लकडाउनको नीति लगाएको छ । यसले लजिष्टिक र उपभोक्ता खर्च प्रभावित हुन सक्ने पनि बताइएको छ ।
स्ट्राटेजिक एनालाइटिक्सका कार्यकारी निर्देशक नील मस्टनले दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोनको बिक्रीमा वार्षिक मापनका आधारमा २० प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेका छन् । काउन्टरपोइन्ट रिसर्चमा साझेदार रहेका नील शाहले स्मार्टफेनको बिक्री अप्रिल र मे महिनामा क्रमशः १२ र १३ प्रतिशतले गिरावट आउने बताएका छन् ।
विशाल छुटको सपिङ महोत्सव र कोभिड सहुलियतका कारण जुनमा बिक्री ह्वात्तै बढ्न सक्ने बताइएको छ । यसले चीनमा हुने स्मार्टफोनको बिक्रीको गिरावट ३ देखि ४ प्रतिशतमा झार्न सक्ने शाहले बताएका छन् । यदि कोभिडको अवस्थाले निरन्तरता पाएमा बजार १२ प्रतिशतसम्म झर्न सक्ने उनले थपेका छन् ।