‘दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि’ मुल भाव र संकल्प सहित सुरु भएको साकोस शिखर गोष्ठी २०७९ को आज दोस्रो दिन । आइतबारबाट सुरु भएको गोष्ठी आज साझा घोषणापत्र जारी गरी समापन हुँदैछ । गोष्ठीमा आज तीनवटा सामूहिक सत्र र २ वटा ब्रेक आउट सत्र हुँदैछ ।

एसियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत सञ्जित हिताचारीले ‘साकोसहरुले अवलम्बन गरेको नयाँ सामान्य संस्कृति : कोभिड १९ को प्रतिक्रिया’ विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले ‘संघीयतामा वित्तीय सहकारीहरू प्रवर्द्धन, विकास र सुशासन र नेपाल’ विषय कार्यपत्र सामूहिक सत्रमा प्रस्तुत गर्नेछन् ।

त्यस्तै ब्रेक आउट सत्रमा सहकारी विभागमा पूर्व रजिष्ट्रार सुदर्शन ढकालले वित्तीय सहकारीमा गुणस्तर विकास : अन्तर्राष्ट्रिय अभ्यास र नेपाल कार्यपत्र प्रस्तुत गर्ने छन् भने नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा.रमेश चौलागाईंले ‘सहकारीमा जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै सामूहिक सत्रमा मानवोदय इन्स्टिच्युट अफ पार्टिसिपेटरी डेभलपमेन्ट भारतका निर्देशन वरुण विद्यार्थीले ‘नेतृत्व रुपान्तरण प्रत्येक नेतृत्वले अंगाल्नुपर्ने महत्वपूर्ण परिवर्तन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ । कोभिड चुनौतीपछि सहकारीमा प्रविधिको आवश्यकता बढेकोले गोष्ठीका सबै कार्यपत्रहरुमा प्रविधिलाई बिशेष प्राथमिकता दिइएको नेफ्स्कूनले जनाएको छ ।