नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सेयर बजारमा निरन्तर आइरहेको गिरावटबारे प्रतिनिधिसभामा चासो राखेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले बजारमा आइरहेको निरन्तर गिरावटको विषयमा चासो राखेका हुन् ।

विगत लामो समयदेखि नेपालको सेयर बजार अस्थिर रहेको थापाले बताए । २०७८ भदौ २८ गते ३१ सय ९८ बिन्दुमा पुगेको सेयर बजार परिसूचक १९ सय ९९ मा झरेको छ । यस्तो परिघटनाले सेयर बजारप्रति नकरात्मक प्रभाव पर्ने थापाले संसदमा बताए । ‘। यसले धेरै साना लगानीकर्ताको लगानी जोखिममा परेको छ,’ उनले भने, ‘एकै पटक ४० लाख लगानीकर्ताको लगानी डुब्दा त्यसको दबाब नेपालको अर्थतन्त्रले थेग्न सक्दैन ।’

यस्तै, दैनिक १०÷१५ जना लगानीकर्ता आफूसँगको सम्पर्कमा आउने गरेको समेत थापाले बताए । र, सम्पर्कमा आएकामध्ये धेरैले आफु झुन्डिएर आत्महत्या गर्ने तथा सडकमा आइपुगेको गुनासो गर्ने गरेको समेत थापाले खुलाए । ‘सेयर बजार तलमाथि गर्नु सामान्य हो,’ उनले भने, ‘तर, कुनै अस्थिर नीतिका कारणले गर्दा बजारको ह्रासले अहिले विद्यमान र सम्भाव्य सबै लगानीलाई निरुत्साहित गर्छ ।’

नेपाल राष्ट्र बैंकले सेयर कर्जासम्बन्धी लिएको ४/१२ को नीतिले बजार घटेको संकेत गर्दै गगनले यस्तो अस्थिर नीति लिन नहुने माग गरे । घट्दो अवस्थामा रहेको सेयर बजारको स्थायित्व र विश्वास कायम गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डले गरिरहेका कामका विषयमा समेत थापाको चासो देखिन्छ । ‘निजी क्षेत्रलाई र अन्तर्राष्ट्रिय लगानीलाई समेत सेयर बजारमा ल्याएर फराकिलो बनाउनुपर्नेमा संकुचित बनाउने व्यवस्था गर्नुभएन,’ थापाले भने ।