मर्जर तथा प्राप्ति (गाभ्ने–गाभिने) कम्पनीहरूको सेयर रोक्का हुने व्यवस्था खारेज भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी गर्दै सो व्यवस्था खारेज गरेको हो ।

जारी निर्देशिकाअनुसार अब मर्जर तथा प्राप्तिमा सहभागी हुने कम्पनीहरूको आधारभूत सेयर बाहेक अन्य सेयर कारोबार एकीकृत कारोबार हुने समयमा मात्रै रोक्का हुनेछ । बोर्डले आधारभूत सेयरधनी बाहेकका सेयर एकीकृत कारोबार हुँदा अधिकतम १५ दिनमात्रै रोक्का हुने बोर्डले जनाएको छ ।

तथापि, गाभ्ने तथा गाभिने प्रक्रिया ७ दिन अवागै सकिए पनि बोर्डले सोही समयावधिको लागिमात्रै सेयर रोक्का गर्नेछ । जारी निर्देशिकाअनुसार यसअघि मर्जर तथा प्राप्तिकै कारणले सेयर रोक्का रहेका कम्पनीहरूको कारोबार फुकुवा गर्नुपर्नेछ ।

सम्बन्धित कम्पनीले आधारभूत सेयरधनी बाहेक अन्य सेयरधनीको कारोवार फुकुवा गर्न आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ । निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकको कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ ।