नेपाल टेलिकमले आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएमारबिग्रिएमा स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ ।

राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएकोले टेलिकमले उक्त अनुरोध गरेको हो ।

मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधाहरू सुरक्षित रूपमा प्रयोग गर्न सकिने टेलिकमले बताएको छ ।

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहेको कम्पनीको भनाइ छ ।

नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा के गर्ने ?

  • नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरणहरू स्पष्ट रुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचय पत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचय पत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नु पर्छ ।
  • स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइनेछ।
  • परिचय पत्रको प्रतिलिपीलाई सक्कल परिचय पत्रको नाम, बुवाको नाम, परिचय पत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिन्छ ।
  • सिमकार्ड परिवर्तन गर्नुपर्ने भएमा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्ण रुपमा भरेरनभरेको जाँच पछि ग्राहकको परिचय पत्रको सक्कल र नक्कल लगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुन्छ ।
  • ग्राहक स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आउँदा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरिनामा र सक्कल परिचय पत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचय पत्र देखाई सोको प्रतिलिपी रितपूर्वक भरिएको फराम साथ संलग्न गर्नुपर्छ ।
  • कागजात रुजु कार्य सम्पन्न भएपश्चात सिमकार्ड परिवर्तन हुन्छ ।
  •  सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आ(आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचय पत्रको सक्कल र तिनका प्रतिलिपी सहित स्वयं उपस्थित भई निवेदन दिन सकिन्छ ।
  • कुनै ग्राहक अशक्त भएमा निजको मञ्जुरीनामा पत्र र परिचय पत्रको सक्कल तथा प्रतिलिपी, लिन आउने व्यक्तिको सक्कल परिचय पत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण पत्र सहित हकवाला नातेदार सक्कल कागजात तथा परिचय पत्र सहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुन्छ ।
  • वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचय पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिन्छ ।