सर्वोच्च अदालतको आदेशपछि रिहा भएका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरिएको छ ।

अध्यागमन विभागका अधिकारीहरुले त्यसको तयारी अघि बढाइएको बताएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।

अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउने तयारी भइरहेको बताइन् ।

सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो ।