अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ ।

क्यानडामा ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्तको मेरिट सहर नजिकै हिउँको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ । आँधी आगामी केही दिनमा कम हुने मौसमविद्हरूले बताएका छन् । तर अत्यावश्यकबाहेक यात्रा नगर्न उनीहरूले सल्लाह दिएका छन् ।

आँधीले केही दिनदेखि विनाश ल्याएको छ, तर पहिलेको ब्ल्याकआउटपछि बिजुलीस्थिर रूपमा पुनःस्थापित भएको छ । आइतबार २ लाखभन्दा कम मानिस बिजुलीबिहीन भएका थिए ।

अत्याधिक चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । बिजुली नभएपछि कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।