काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश पारित गर्नुअघि नै सेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकले मंगलबार सूचना जारी गर्दै पुस २८ गते पारित गर्न लागेको नगद लाभांश प्राप्त गर्न बैंक खाता अद्यावधिक गर्न बाँकी सदस्यलाई यथाशीघ्र गराउन आग्रह गरेको हो ।
यस्तै, यस वर्ष बैंकले कुल ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि ४.९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैंकले साधारणसभा प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम सेयरधनीले बैंकको लाभांश प्राप्त गर्नेछन् । बैंकको सेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।