काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभा हल विराटनगर-२ मा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २२ प्रतिशत बोनस सेयर र बोनसमा कर तिर्न १.१५७९ प्रतिशत नगद लाभांश गरी जम्मा २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

त्यसैगरि, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि संस्थाले माघ १७ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, माघ १६ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।