काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकले पुस २५ गतेबाट १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ ऋणपत्र निष्कासन गरेको हो ।
बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने जनाएको छ ।
त्यसैगरी, यस ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
आवेदकले बिक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।