काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले दोस्रो त्रैमासमा २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ५०.५४ प्रतिशतले थोरै हो । गत वर्ष यसले ४ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा एक्सेलको खुद ब्याज आम्दानी भने ३०.८९ प्रतिशतले बढेर २६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी २० करोड ४४ लाख रुपैयाँ रहेको थियो ।
सञ्चालन नाफा १०.२७ प्रतिशतले घटेर ६ करोड २ लाख रुपैयाँमा झरेको छ । यता, बैंकको इम्पेयरमेन्ट चार्ज भने ११३.६५ प्रतिशतले बढेर ८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानीमा केही सुधार भएता पनि सञ्चालन नाफा घट्दा अनि इम्पेयरमेन्ट चार्ज बढ्दा यसको नाफा प्रभावित भएको हो ।
हाल एक्सेलको चुक्ता पुँजी १ अर्ब २४ करोड ९६ लाख ९४ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ४६ करोड रुपैयाँ छ । बैंकको कस्ट अफ फन्ड ९.६० प्रतिशत रहेको छ । यसको खराब कर्जा अनुपात ३.७१ प्रतिशतबाट बढेर ४.९० प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २१ पैसा रहेको छ ।