नेपालमै बनेका नयाँ सवारीसाधनको दर्ता, लिलामी दर्ता, नामसारी लगायत व्यवस्था यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा समेटिएको छ । यातायात व्यवस्था विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा नयाँ बुँदा थप गरी संशोधन गरिएको जानकारी दिएको छ ।
कार्यविधि निर्देशिकामा नेपालमा बनेका सवारीसाधन दर्ता तथा नामसारीका लागि भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने व्यवस्था गरिएको छ । तर उत्पादक कम्पनीलाई भ्याट बिल बिजक भने आवश्यक पर्नेछ । निर्देशिकामा दुई वटा बुँदा थप गरिएको छ । जसअन्तर्गत पहिलो बुँदामा भनिएको छ ‘यस निर्देशिकामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएता पनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत प्रयोजनका लागि त्यस्ता सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन ।’
मेड इन नेपाल मोटरसाइकल ‘यात्री’ को यात्रा
थप गरिएको दोस्रो बुँदामा यी सवारीसाधनको दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्क सम्बन्धी प्रावधान आकर्षिक हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारम समेत भर्नुपर्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्थापछि नेपालमा बनेका यात्री लगायत सवारीसाधन दर्ता, नामसारी, पुनः दर्ता, लिलामी दर्ता लगायत कार्यका लागि अवरोध खुला हुनेछ । नेपालमा विद्युतीय मोटरसाइकल ‘यात्री’ उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादन भएका सवारी साधनमा हालसम्म प्रज्ञापन पत्रको अभावमा दर्ता हुन सकिरहेका थिएनन् ।