काठमाडौँ ।
राष्ट्र बैंकको गभर्नर चयन प्रक्रिया फेरि प्रारम्भिक चरणमा फर्किएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेसले यसअघि प्रस्ताव गरेको उम्मेदवार गुणाकर भट्टको नियुक्तिमा अड्चन आएपछि अब विश्व पौडेलको नाम अघि सारेको हो।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टलाई गभर्नर बनाउन कानुनी र व्यावहारिक समस्या रहेको जनाएपछि कांग्रेसले वैकल्पिक रूपमा पौडेलको नाम प्रस्ताव गरेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

सत्ता गठबन्धनका दलहरू कांग्रेस र एमालेबीच गभर्नर पद कांग्रेसको भागमा दिने सहमति भइसकेको छ। सोही अनुसार कांग्रेसले भट्टलाई अघि सारेको थियो। तर, राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिएको राजीनामा कार्यबाहक गभर्नर नीलम ढुंगानाले स्वीकृत नगर्ने अडान राखेपछि प्रक्रिया रोकिएको थियो। साथै, कांग्रेसभित्रै पनि भट्टको उम्मेदवारीप्रति केही तहमा असहमति थियो।

विश्वसनीय स्रोतहरूका अनुसार भट्टको नाम तय गर्दा सभापति देउवाकी पत्नी तथा सांसद आरजु राणा विदेशमा थिइन्। उनको जानकारीबिना भट्टको नाम अगाडि बढाइएको भन्दै राणाले असन्तुष्टि जनाएकी थिइन्। अन्ततः राणाको दबाबपछि देउवा वैकल्पिक उम्मेदवारका रूपमा पौडेलको नाम दिन बाध्य भएका हुन्।

विश्व पौडेल कांग्रेस संस्थापन पक्षमा सर्वस्वीकार्य मानिन्छन्। उनी देउवा नेतृत्वको अघिल्लो सरकारले गठन गरेको मन्त्रिपरिषद्मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन क्षेत्र नं. २ बाट कांग्रेसका उम्मेदवार बनेका थिए।

हाल पौडेल गभर्नर छनोट सिफारिस समितिका सदस्यसमेत रहेका छन्। गभर्नरका लागि उनको उम्मेदवारी प्रस्ताव गर्न समितिको पुनर्गठन आवश्यक हुनेछ। यसअघि समितिका सदस्य रहेका पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि उनका स्थानमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई समिति सदस्यको रूपमा सिफारिस गरिएको थियो।

सरकारले चैत ११ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा राष्ट्र बैंक ऐन अनुसार गभर्नर छनोट सिफारिस समिति गठन गरेको थियो। अब समितिमा नयाँ सदस्य नियुक्तिसँगै चयन प्रक्रिया पुनः सुरुआत हुनेछ।