काठमाडौँ — चार वर्षमै सकिने भनिएको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना सुरु भएको आठ वर्ष पुग्न लाग्दा हालसम्म मात्र ३९.३४ प्रतिशत भौतिक प्रगति भएको छ।

नेपाली सेनाका अनुसार आर्थिक वर्ष २०८१ चैत मसान्तसम्म समष्टिगत भौतिक प्रगति ३९.३४ प्रतिशत र वित्तीय प्रगति (मोबिलाइजेसनसहित) ४१.०६ प्रतिशत पुगेको हो।

२०७४ साउन २७ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेनालाई यो आयोजनाको जिम्मा दिएको थियो। चार वर्षमा सम्पन्न गरिने सम्झौतासहित सुरु गरिएको फास्ट ट्र्याक हालसम्म ४० प्रतिशत नपुगेको प्रगति अवस्थामै अल्झिएको छ।

१३ प्याकेजमध्ये अधिकांश निर्माण चरणमा

आयोजना १३ वटा प्याकेजमा विभाजित छ। हालसम्म प्याकेज नं. १ देखि १० सम्म निर्माणको चरणमा छन्। तर, प्याकेज नं. ११ अन्तर्गतको खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहण र सवारी व्यवस्थापनबारे निर्णय नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन। सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले ऐतिहासिक र धार्मिक महत्त्वका कारण स्थानीयले विरोध गरिरहेका बताए।

हालसम्म खोकना–बुङ्गमती क्षेत्रमा १७८–९–०–१.७५ र १६५–६–०–३ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ। केही जग्गा भने मन्त्रालयको नाममा आइसकेको छ।

सुरुङ मार्गको प्रगति

७ वटा सुरुङ मार्गमध्ये प्रमुख सुरुङ महादेवटारको ३ हजार ३८६ मिटरमध्ये २ हजार २८८ मिटर खन्ने कार्य सम्पन्न भएको छ। धेद्रे र लेनडाँडा सुरुङमा ब्रेकथ्रु भइसकेको छ। देवीचौर, सिसौटार, चन्द्रामभीर, मौरीभीर सुरुङहरूमा निर्माण र डिजाइन कार्य भइरहेको छ।

पुल निर्माण

८९ स्थानमध्ये ८५ स्थानमा पुल निर्माण सम्झौता भई कार्य अगाडि बढेको छ। हालसम्म ५ वटा पुल निर्माण सकिएको छ भने चालु वर्षभित्र थप २० वटा पुल सम्पन्न गर्ने लक्ष्य लिएको छ।

जग्गा अधिग्रहण र रुख कटान

२४.८ देखि ७०.९७७ किलोमिटरसम्मको खण्डमा निर्माण भइरहेको छ। हालसम्म ४४,४२० रुख कटान भइसकेको छ भने त्यसको सट्टा ७ लाख ५ हजार ५५२ बिरुवा रोपिएको छ।

अन्य परियोजनाहरूमा सेनाको संलग्नता

कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक, उत्तर–दक्षिण कोशी सडक, दार्चुला–टिङ्कर सडक लगायतका परियोजनाहरूमा पनि सेना सक्रिय छ। चुरे संरक्षण कार्यक्रमअन्तर्गत वृक्षारोपण, ताल संरक्षण, तटबन्ध निर्माण कार्य पनि सेनाले गरिरहेको छ।