वासिङ्टन । अमेरिका र चीनबीचको व्यापार सम्झौतामा उल्लेखनीय प्रगति भएको छ। ह्वाइट हाउसले जेनेभामा सम्पन्न वार्तापछि सम्झौताको घोषणा गरेको हो।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वार्तालाई ‘उत्पादक र रचनात्मक’ भनेका छन्, भने चीनका उपप्रधानमन्त्री हे लाइफेङले यसलाई ‘गहन’ र ‘स्पष्ट’ वार्ता भनेर टिप्पणी गरेका छन्। अर्थमन्त्री बेसेन्टले भने, “चीनसँगको व्यापार सम्झौतामा भएको प्रगतिबारे जानकारी दिन पाउँदा म खुसी छु। सम्झौताको प्रारम्भिक विवरण राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको छ, र विस्तृत विवरण भोलि सार्वजनिक गरिनेछ।”
अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरले पछिल्ला दुई दिनलाई ‘धेरै रचनात्मक’ बताउँदै भने, “हामी चाँडै सहमतिमा पुग्न सफल भयौं, जसले देखाउँछ कि दुबै पक्षबीचको मतभेद धेरै ठूलो छैन।”
ग्रीरका अनुसार, अमेरिका हाल १,२०० अर्ब डलरको व्यापार घाटामा छ, जसकै कारण राष्ट्रपति ट्रम्पले चीनमा उच्च कर लगाउने निर्णय गरेका थिए।
ट्रम्प प्रशासनले चिनियाँ आयातमा १४५% सम्मको कर लगाएपछि, चीनले पनि केही अमेरिकी वस्तुहरूमा १२५% सम्मको कर लगाएको थियो। यिनै करहरूको कारण दुई देशबीचको सम्बन्ध चिसिएको थियो। वार्ताका क्रममा भएको यो प्रत्यक्ष भेटघाटले भने सम्बन्धमा नयाँ मोड ल्याएको बताइएको छ।
वार्ताको पहिलो दिनपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनसँगको सम्बन्धमा ‘पूर्ण पुनर्स्थापना’ भएको उल्लेख गर्दै वार्तालाई ‘मैत्रीपूर्ण र रचनात्मक’ भनेका छन्।