काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बिचौलियाको चलखेलका कारण सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको आरोप लगाएका छन्। मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिको प्रक्रिया अनावश्यक राजनीतिकरण भएको टिप्पणी गरे।

पुनका अनुसार, समयमा गभर्नर नियुक्त गर्न नसक्नुले देश कसको हातमा चलिरहेको हो भन्नेबारे प्रश्न खडा भएको छ। उनले परम्परागत रूपमा राष्ट्र बैंकको डेपुटी गभर्नर वा मौद्रिक नीतिमा विशेषज्ञता भएका व्यक्तिलाई गभर्नर बनाउने चलन रहे पनि हाल स्वार्थ समूहहरूले आआफ्ना मनपर्ने व्यक्तिलाई अगाडि बढाउने प्रयास गरिरहेको दाबी गरे।

“जबसम्म ती स्वार्थ समूहसँग सहमति मिल्दैन, तबसम्म गभर्नर नियुक्ति सम्भव देखिँदैन,” पुनले भने।

उनले राजनीतिक कार्यकर्ता वा स्वार्थ समूहको प्रतिनिधिलाई गभर्नर बनाउने हो भने अर्थतन्त्र थप संकटमा पर्ने चेतावनी दिए। साथै, योग्य र विज्ञ व्यक्तिलाई गभर्नर नियुक्त गर्न सरकारलाई उनले आग्रह गरे।