लमजुङ । बर्खायाम नजिकिँदै गर्दा पनि लमजुङ जिल्लामा विद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि हुन सकेको छैन। हिउँ नपग्लिनु र मस्र्याङ्दी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पानीको मात्रा पर्याप्त नहुँदा गत मङ्सिरदेखि घटेको उत्पादन अझै सुधार हुन नसकेको हो।
जिल्लाको सबैभन्दा ठूलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना (बेँसीसहर नगरपालिका–१, दलाल) मा मङ्सिरयता विद्युत् उत्पादन घटेर २४ मेगावाटमा झरेको थियो। हाल उत्पादन केही बढेर ३२ मेगावाटको हाराहारीमा पुगेको आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिए। उनका अनुसार अघिल्ला वर्षमा यही समयमा ४०–५० मेगावाटसम्म उत्पादन हुन्थ्यो।
बस्नेतले भने, “यस वर्ष हिउँ ढिलो पग्लिनु र नदीमा पानीको अभावका कारण आवश्यक स्रोत नपुग्दा उत्पादन वृद्धि ढिलो भइरहेको छ।” सन् २००८ मा निर्माण सम्पन्न भएको उक्त आयोजना २७ अर्ब २० करोड रुपैयाँ लागतमा बनेको थियो।
यस्तै, सुपरदोर्दी ‘ख’ आयोजना (५४ मेगावाट, दोर्दी गाउँपालिका–६, ढोडेनी) मा हाल १४ मेगावाट मात्र उत्पादन भइरहेको पिपुल हाइड्रोपावर कम्पनीले जनाएको छ।
त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–२, भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा पनि अहिले ३०–३२ मेगावाट मात्र उत्पादन भइरहेको छ। “यस वर्ष उत्पादन घटेपछि सुरुवाती चरणमा २५ मेगावाट क्षमताको एउटा टरबाइन मात्र चलाइएको थियो, अहिले दुई वटा सञ्चालनमा छन्, तर नदीमा पानी नहुँदा पूर्ण क्षमतामा लैजान सकिएको छैन,” इञ्जिनियर कर्ण अधिकारीले जानकारी दिए।
यस्तै, ङादी (३० मेगावाट), दोर्दी खोला (२७ मेगावाट), माथिल्लो दोर्दी ‘ए’ (२५ मेगावाट), राँधी (४.४ मेगावाट), मिदिम करापु (३ मेगावाट) र छ्याङ्दी (२ मेगावाट) आयोजनाहरू पनि पानीको अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।
हाल लमजुङ जिल्लामा १७ वटा जलविद्युत् आयोजनाबाट करिब ३ सय मेगावाट विद्युत् उत्पादन हुँदै आए पनि पानीको कमीले गर्दा उक्त स्तरको उत्पादन हुन नसकेको विद्युत् कम्पनीहरू बताउँछन्।