काठमाडौँ — सिजनकै समयमा सुन गहनाको कारोबार सुस्त भएको छ। मूल्यमा भइरहेको अस्थिरता तथा उतारचढावले गर्दा उपभोक्ता झुकाव घटेको व्यवसायीहरू बताउँछन्।
वैवाहिक सिजन मानिने वैशाख, जेठ, असार, माघ, मंसिर र फागुन महिनामा सामान्यतः सुन गहनाको माग उच्च हुने गर्छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगतमा दैनिक ४५–५० किलोसम्म सुन गहना बिक्री हुने गरे पनि यसपालि त्यस्तो रफ्तार छैन।
महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार, “फागुन, वैशाख र माघ सुन बिक्रीका मुख्य महिना हुन्। तर यसपटक लगन धेरै भए पनि कारोबार घट्यो। पसलहरू सुनसान देखिए, केहीले त पुरानो गहना फेरबदल गरेर मात्र नयाँ गहना लिए।”
व्यवसायीहरूले सुनको मूल्यमा भएको तीव्र उतारचढावलाई कारोबार घट्नुको प्रमुख कारण मान्छन्। वैशाख ९ मा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३५०९ अमेरिकी डलरसम्म पुगेको थियो। त्यही दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ थियो। वैशाख ३० सम्म आइपुग्दा अन्तर्राष्ट्रिय मूल्य घटेर ३२३७ डलरमा झरेको छ भने नेपाली बजारमा प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा सीमित भएको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार, “अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री दबाब छ। त्यसैले मूल्य घटेको देखिन्छ। स्थानीय बजारमा सिजन भए पनि कारोबार खासै भएको छैन।”
व्यवसायीहरूका अनुसार साना तथा मझौला लगानीकर्ताहरूले लाभ लिन बिक्री थालेपछि थप मूल्य गिरावट आएको हो। साथै, अमेरिका–चीन व्यापार सम्बन्ध, रूस–युक्रेन युद्ध शिथिलता, भारत–पाकिस्तान तनावमा कमीले पनि लगानी वातावरणमा सुधार ल्याएको छ। फलस्वरूप सुनबाट लगानी हटाएर सेयर वा डलर बजारतर्फ ध्यान केन्द्रित भइरहेको देखिन्छ।
महासंघका अनुसार पछिल्लो ५ दिनमा मात्र सुनको मूल्य ७ हजार ४ सय रुपैयाँले घटिसकेको छ। वैशाख २५ मा प्रतितोला मूल्य १ लाख ९२ हजार २ सय रुपैयाँ थियो भने वैशाख ३० मा घटेर १ लाख ८४ हजार ८ सय रुपैयाँमा झरेको छ। तर उपभोक्तालाई गहना किन्न व्यवसायीले श्रम, जर्ती आदि गरी १२–१८ प्रतिशतसम्म थप मूल्य तिर्नुपर्ने हुन्छ।