काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ५ गते पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ४ वर्ष अवधि रहेको ‘विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल ५ पुसमा र ६ पुसमका निष्कासन हुनेछ ।

बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्रको ब्याज अर्धवाषिर्क रुपमा भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । यसरी आर्जित ब्याजमा ब्याजकर नलाग्ने सूचनामा उल्लेख छ ।

अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा कुनै पनि ब्याजकर लाग्ने छैन । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्ने प्रावधान छ । ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिनसमेत पाइनेछ ।

५ अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४ अर्ब २५ करोड रुपैयाँ प्रतिस्पर्धी र ७५ करोड रुपैयाँ अप्रतिस्पर्धी रुपमा बोलकबोल हुनेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।