नेपाल विद्युत् प्राधिकरणले थप दुई आयोजनाको ४३ मेगावाट बराबर बिजुली भारतमा निर्यात गर्न अनुमति पाएको छ । भारतीय इनर्जी एक्स्चेन्ज (आईएक्स)को डे अहेड बजारमा प्रतिस्पर्धामार्फत थप ४३ मेगावाट बिजुली बेच्न प्राधिकरणले स्वीकृति पाएसँगै भारतमा बिजुली निर्यात हुने आयोजनाको संख्या १० पुगेको छ ।

अहिले काबेली बी १ को २४.२५ मेगावाट र तल्लो मोदी आयोजनाको १९.४ मेगावाट बिजुली भारतमा बेच्न प्राधिकरणले स्वीकृति पाएको हो । अब नेपालले १० आयोजनाको कुल ४५२ मेगावाट बिजुली भारतलाई बेच्न स्वीकृति पाएको छ । हाल भने प्राधिकरणले बिजुली आयात गर्न थालेको छ । नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरुबाट उत्पादन कम हुन थालेपछि विद्युत् निर्यात बन्द गरी आयात थालिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले आईएक्सको प्रतिस्पर्धी बजारमै विद्युत् बिक्री र खरिद गर्दै आएको छ । नेपालले यसअघि नै भारतमा बिजुली निर्यात गर्न अनुमति पाएका आयोजनाहरुमा चिलिमे, सोलुखोला, मर्स्याङ्दी, मध्य मर्स्याङ्दी, त्रिशुली, देवीघाट, कालीगण्डकी ए र लिखु छन् ।