काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुस २५ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्कासन गर्न लागेको हो।

यस्तै, ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काुन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने छ ।

त्यसैगरी, उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।