काठमाडौं । लक्ष्मी बैंकले २०औं वार्षिकोत्सवको प्रतिबद्धतास्वरूप काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको छ ।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र काठमाडौं विश्वविद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्राडा विपिन अधिकारीले हस्ताक्षर गरेका छन् । छात्रवृत्तिमार्फत लक्ष्मी बैंकले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्नेछ । छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनौटसम्बन्धी प्रक्रिया काठमाडौं विश्वविद्यालयकै मातहतमा हुनेछ । बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्ने तथा त्यसको प्रबर्द्धन गर्नेछ ।
छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले एक करोड रुपैयाँ बराबरको अक्षय कोषको स्थापना गर्ने बताइएको छ । सो कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययनमा खर्च हुनेछ ।