काठमाडौं । यस वर्षको ‘कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड’ वर्ल्डलिंकले हात पारेको छ । कर्पोरेट क्लब नेपालले वर्ल्डलिंकलाई ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो ।
निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड प्रदान दिने गरिएको छ । यसबाट समाजमा सबैको मनोवल बलियो पार्नुको साथै राम्रो काम गर्न प्रेरित र प्रोत्साहनसमेत गर्ने आयोजकको अपेक्षा छ ।
अवार्डका लागि व्यक्तिगत तथा संस्थागत डिजिटलाइजेसनमा वर्ल्डलिंकले देखाएको प्रतिबद्धता, ग्राहक संख्या, प्रयोग गरिएको प्रविधि, मर्मत सम्भार, अनलाइन भुक्तानीको विकल्प, शाखाहरूको संख्या, सेवाको पहुँच क्षेत्र आदिलाई आधार बनाइएको थियो । यसका साथै कर्मचारीको क्षमता अभिवृद्धिका लागि सञ्चालित तालिम, स्थानीय प्रतिभाको कदर, व्यवसायिक सामाजिक उत्तरदायित्व जस्ता विषयसमेत अवार्डका लागि मूल्यांकन गरिएको थियो ।
प्राध्यापक डा। फत्तबहादुर केसी अवार्डका लागि निर्णायक मण्डलको संयोजकको रूपमा रहेका थिए । जसमा वुमन फर ह्युमन राइट्सका संस्थापक अध्यक्ष लिली थापा, पत्रकार बबिता बस्नेत, भुवन दाहाल, सफल पार्टनरका सीईओ ओषुतोश तिवारी, पत्रकार पुष्पराज आचार्य र आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा। छिरिङ लामा सदस्यको रुपमा रहेका थिए ।
देशभर वर्ल्डलिंकका सात लाखभन्दा धेरै ग्राहक रहेका छन् । जसमध्ये ९३ प्रतिशत घरायसी, दुई प्रतिशत साना व्यवसाय र एक प्रतिशत इन्टरप्राइज रहेका छन् । वर्ल्डलिंकले हाल पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।