काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले माघ ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो ।

यस सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा माघ १८ गते हुनेछ भने ढिलोमा फागुन ४ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमाबैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । प्रति दरखास्त फारामबापत आवेदकले २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।