काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्जर भएर आज (पुस २७ गते) बाट एकीकृत कारोबार सुरु हुँदैछ ।
दुबै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २१ गते अन्तिम स्वीकृति दिएको छ । दुबै एक भएपछि अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । पुस ७ गते सम्पन्न साधारण सभाले पनि दुबै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।
अब मेगा बैंकका १०० कित्ता सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन् । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ । ९० प्रतिशतको स्वापमा मर्जर हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पुँजी ३३ अर्ब हाराहारी पुग्नेछ ।