बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको आन्तरिक तयारी तीव्र बनाएको छ। हालसम्म चालु आर्थिक वर्षको बजेट खर्चसँगै आगामी बजेटको खाका तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ।

प्रदेश सरकारका अनुसार बजेटको आकार पछिल्ला वर्षहरूझैँ यस वर्ष पनि घट्नेछ। चालु आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशतले बजेट घट्ने अनुमान गरिएको छ। अर्थमन्त्री धनेन्द्र कार्कीका अनुसार यो वर्ष ३० देखि ३२ अर्ब रुपैयाँको बीचमा बजेट ल्याउने तयारी भइरहेको छ।

सकारात्मक तयारी, यथार्थपरक दृष्टिकोण

“बजेट निर्माणका लागि मन्त्रालयहरूलाई सिलिङ दिइसकिएको छ। स्थानीय तहका प्रतिनिधि, सत्तारुढ तथा विपक्षी नेताहरू, अर्थशास्त्रीहरूसँग छुट्टाछुट्टै छलफल गरिएको छ,” मन्त्री कार्कीले बताए।

उनका अनुसार संघीय सरकारसँग समन्वय गर्दै बजेट निर्माणको गृहकार्य भइरहेको छ। “मुख्यमन्त्रीज्यू निकै सक्रिय हुनुहुन्छ। हामी जनतामुखी र परिणाममुखी बजेट ल्याउने तयारीमा छौँ,” कार्कीले बताए।

बजेट घटाउने बाध्यता

बजेटको आकार घटाउनुको कारणबारे उनले भने, “संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान र समानीकरण बजेटमा कटौती भएको छ। साथै, आन्तरिक राजस्व सङ्कलनमा पनि लक्ष्य अनुसारको प्रगति छैन। हामी घाटाको बजेट बनाउने पक्षमा छैनौँ।”

अर्थमन्त्री कार्कीका अनुसार संघीय सरकारले विगतमा उपलब्ध गराउने भनिएको ३ अर्ब रुपैयाँ पनि लुम्बिनी प्रदेशले पाएको छैन। अर्कोतर्फ, बुटवल प्रादेशिक अस्पताल र राजधानीसँग सम्बन्धित भौतिक संरचना निर्माणमा ठूलो बजेट खपत भइरहेको उनले बताए।

नयाँ प्राथमिकता : पर्यटन र कृषि

कार्कीका अनुसार यो बजेटमा पर्यटन र कृषि क्षेत्र प्राथमिकतामा रहनेछन्। “बर्दिया, रिडी, स्वर्गद्वारी, त्रिवेणी, लुम्बिनी लगायतका धार्मिक एवं पर्यटकीय क्षेत्रलाई जोड्ने पूर्वाधार विकासमा बजेट केन्द्रित हुनेछ,” उनले भने।

कृषिमा तराईमा अन्न उत्पादन र पहाडी क्षेत्रमा फलफूल खेती प्रवर्द्धन गर्ने रणनीति अनुरूप कार्यक्रम तय गरिने उनले बताए। “साना उद्यमी, शिक्षा, स्वास्थ्य र खानेपानी आयोजनाहरू पनि प्राथमिकतामा पर्ने छन्,” कार्कीले स्पष्ट पारे।

पुराना योजनालाई प्राथमिकता

“नयाँ संरचना निर्माणभन्दा पनि अधुरा आयोजनाहरू सम्पन्न गर्न प्राथमिकता दिनेछौँ,” मन्त्री कार्कीले भने, “खासगरी खानेपानी आयोजनाहरू अधुरा छोड्न मिल्दैन। ती पूरा गर्न आवश्यक बजेट विनियोजन गरिनेछ।”

बजेट कार्यान्वयन सन्तोषजनक

“हामीकहाँ बजेट कार्यान्वयनको अवस्था अन्य प्रदेशको तुलनामा सन्तोषजनक छ,” मन्त्री कार्कीको दाबी छ। सुरुका वर्ष कर्मचारी अभावका कारण समस्या भए पनि अहिले त्यो अवस्था हटेको उनले बताए।

“हतारमा खर्च गरेर जनताको करको पैसा जथाभावी प्रयोग गर्नु हुँदैन। विधिपूर्वक र योजनाबद्ध रूपमा खर्च गरिन्छ,” उनले थपे।

राजस्व सुधारमा ध्यान

अर्थमन्त्री कार्कीले आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक नभएको स्वीकारे। “केही ऐन, केही सङ्कलन संयन्त्रको कमजोरीले राजस्व घटेको हो। ती सुधार्ने योजना बनाएका छौँ,” उनले बताए।

संविधानले दिएको अधिकार प्रयोग गर्दै नयाँ राजस्व स्रोतको खोजी भइरहेको जानकारी दिँदै कार्कीले भने, “व्यवसायीलाई आजित हुने गरी कर होइन, सहज तरिकाले प्रदेशको राजस्व बढाउने उपाय खोजिरहेका छौँ।”

कर दायरा वृद्धिमा सतर्कता

“हामी करको दायरा विस्तारको नाममा जनतालाई थप भार पार्ने पक्षमा छैनौँ। हाम्रो बजेटले जनतामा सकारात्मक अनुभूति दिनेछ,” अर्थमन्त्री कार्कीको प्रतिबद्धता छ।