अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल भएपछि निजी क्षेत्रको छाता संगठन उद्योग परिसंघले खुसी व्यक्त गरेको छ । आज संसदमा एमसीसी टेबल भएपछि परिसंघले विज्ञप्ती निकाल्दै खुसी व्यक्त गरेको हो।

एमसीसी सम्झौता संसदबाट अनुमोदन भएर कार्यान्वयनमा गएपछि देशले आर्थिक लाभ हासिल गर्ने परिसंघको भनाइ छ । सम्झौता संसदबाट अनुमोदनका लागि आवश्यक पहल गने प्रधानमन्त्ती र सबै राजनीतिक दललाई धन्यवाद समेत दिएको छ।

नेपालको आर्थिक विकासमा रणनीतिक महत्व दिने विद्युत र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्वपूर्ण रहेको परिसंघको भनाइ छ । लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दीगो आर्थिक विकासका आधार हुन सक्ने बताइएको छ ।
दीगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपछिको आर्थिक पुनरुत्थानका लागि ठूलो लगानी चाहिन्छ । र, यसका लागि एमसीसी उपयुक्त भएको परिसंघले बताएको छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र सहायताको इतिहासमा अमेरिकासँगको सम्बन्ध ऐतिहासिक रहेको र अमेरिकाबाट प्राप्त सहयोगबाट आर्थिक÷सामाजिकविकासमा गुणात्मक फड्को मारेको परिसंघले उल्लेख गरेको छ ।

नेपालले दातृ निकायहरूबाट प्राप्त गरिरहेको विश्वास अभिवृद्धिमा एमसीसी सम्झौता कार्यान्वयनले थप टेवा दिनेमा परिसंघ विश्वस्त छ । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो । सन् २०२६ बाट नेपालविकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालमा उत्पादित वस्तुहरूको सहज निर्यातका लागि लागि पनि नेपालले असल सम्बन्ध कायम गरिराख्नुपर्ने हुन्छ ।साभार:रातोपाटी