काठमाडौं । आरएसडीसी लघुवित्तको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । सभा, एसियन होटल बुटवल, रुपन्देहीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
सभामा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर सहित ३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि यस संस्थाले पुस १५ गते बुक क्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन् ।