काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १२.५३ अंकले घट्दै २,६४९.११ विन्दुमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतको गिरावट हो।
गत बिहीबार घटेको बजारले आइतबार पनि गिरावटको प्रवृत्ति दोहोर्याएको हो। दिनभर भएका कारोबारमा ८२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको भए पनि १६४ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ।
दिउँसोसम्म ८८ हजार ९५५ पटकको कारोबारमा २ करोड ४० लाख कित्ता भन्दा बढी सेयर किनबेच भएका छन्। त्यसअनुसार कुल कारोबार रकम १० अर्ब २० करोड रुपैयाँमा सीमित रह्यो, जुन बिहीबारको ११ अर्ब ६५ करोडको कारोबारभन्दा घटेको हो।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, होटेल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र व्यापार समूहको परिसूचकमा सुधार देखिएको छ। बाँकी सबै उपसमूहमा गिरावट आएको नेप्सेले जनाएको छ।