काठमाडौं । कालिञ्चोक दर्शनको आइपीओ बुधबार बाँटफाँट भएको छ । स्थानीय बासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओ बुधबार बाँडफाँड भएको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीले स्थानीय बासिन्दालाई जारी गरेको १ लाख २० हजार कित्ता सेयर १२ हजार स्थानीय बासिन्दाले गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् । स्थानीय बासिन्दाबाट १५ हजार ४११ जनाबाट आवेदन परेकोमा २३१ जनाको आवेदन रितपूर्वक नपरेकाले रद्द गरिएको नबिल इन्भेष्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीबाट रितपुर्वक परेको सबै ६ हजार २५९ जना आवेदकलाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ता सेयर २० कित्तादेखि एक हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको जनाएको छ ।