काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानिय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो।
साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो।
उक्त सेयरका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । स्थानिय बासिन्दाले सो आइपीओमा अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा माघ १९ गतेसम्म र ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १९ गतेभित्र आवेदन दिनु पर्नेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।