स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले गाउँको बाँझिँदै गएको उर्वर जमिनको संरक्षण र बसाइसराइ नियन्त्रण गर्न दीर्घकालीन कृषि विकास योजना तथा रणनीति निर्माण प्रक्रिया थालेको छ। नगर प्रमुख कृष्ण खाँणका अनुसार, योजनाविहीन बसाइसराइका कारण उपयुक्त खेतीयोग्य जमिन प्रयोगविहीन हुन थालेको छ, जसको समाधान दीर्घकालीन कृषि रणनीति निर्माणबाट खोजिँदैछ।
प्रमुख खाँणले भने, “गाउँगाउँमा रहेको उर्वर भूमि बसाइसराइका कारण बाँझो हुँदै गएको छ। यदि कुन स्थानमा कुन खेती उपयुक्त हुन्छ भन्ने प्रस्ट योजना तयार गरियो भने बसाइसराइ घटाउन सकिन्छ।”
उनका अनुसार मेहनतअनुसारको प्रतिफल नपाउँदा कृषकहरू कृषि पेसाबाट पलायन हुन थालेका छन्। त्यस्ता चुनौतीहरूलाई सम्बोधन गर्न खेतीयोग्य क्षेत्रको पहिचान र उपयोगबारे स्पष्ट खाका तयार गर्नु नगरपालिकाको प्राथमिकता रहेको उनले बताए।
नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष पदमराज गुरुङले वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालीन कृषि रणनीति निर्माणको प्रक्रिया अघि बढाएको जानकारी दिए।
१४ वटा वडा रहेको वालिङ नगरपालिकाका प्रत्येक वडाको वस्तुस्थिति समेटेर रणनीति तयार गरिने हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले बताए। उनले वालिङ कृषि विकास परियोजना अन्तर्गत हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति निर्माण हुँदै गएको जानकारी दिए।
योजनासम्बन्धी छलफलमा डा. रामचन्द्र बस्ताकोटी, डा. अम्मर शाह, नगेन्द्र बस्ताकोटी, अस्मिता नेपाललगायतले कृषि रणनीतिको आवश्यकता र महत्वबारे धारणा राखेका थिए।
डा. बस्ताकोटीका अनुसार, रणनीति तयार भएपछि कृषकलाई “कुन ठाउँमा के गर्न सकिन्छ” भन्ने प्रष्ट दिशानिर्देश मिल्नेछ, जसले योजनाबद्ध कृषि विकासलाई टेवा पुर्याउनेछ। उनले भने, “काम गर्न चाहने कृषकलाई लक्ष्यसहितको योजना आवश्यक छ, जुन यस रणनीतिबाट सम्भव हुनेछ।”