नेपाल राष्ट्र बैंक जनकपुरस्थित प्रदेश कार्यालय रङरोगन हुने भएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को स्वीकृत कार्ययोजना बमोजिम कार्यालयको बाहिरी पर्खाल, निर्देशक तथा अधिकृत निवास र अतिथि गृह भवनको बाहिरी भाग रङरोगन गर्ने भएको हो ।

साथै बैंकले संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको समन्वयमा निर्देशक तथा अधिकृत आवासलाई समेट्ने गरी डिप बोरिङ समेत गर्ने जनाएको छ । यसका लागि योग्य कम्पनीबाट बैंकले दरखास्त माग गर्ने भएको छ ।
आइतबार अपरान्ह २ बजे खोलिने सार्वजनिक बोल बोलकबोलका लागि इच्छुक कम्पनीले विद्युतीय माध्यमबाट दरखास्त दिन सक्नेछन् । यसअघि बैंकले बिहीबारका लागि टेन्डर खुल्ला गर्ने तयारी गरेको थियो । तर सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी साइट मर्मत कार्य चलिरहेका कारण अवरोधका बाबजुद टेन्डर प्रक्रिया आगामी आइतबारलाई सरेको हो ।